एक पहाड आस्था

SITENAME

                                                          –पुष्पहाङ लोवा


मेरो हजुर !
तर्नुहुन्छ भनेर बल्ल बल्ल जोडेको पुल
झर्न आँटिसक्यो मक्किएर
लहराले बाँधिएको थोत्रो फड्के जस्तै ।


कति धेरै बगिसकेछ पानी हेंवामा
कतै सोहोरिएछ भेलबाढी
फर्केर हेर्दा तिर्मिराउँछ आँखा
अतीतको बगरले ।


हजुरको स्वागतार्थ निर्मित पुल
प्रतिक्षामै थोत्रियो
तर–
मेरो हजुर ! अहँ कहिल्यै तर्नुभएनछ
खोजिहिंड्छु आँखाले छाम्दै पुलभरी
खै ! कतै भेटिएन हजुरको पद्चाप
वित्थामा पुल मात्र थापें कि क्या हो ?
कि कतै भेलसंग सोहोरिनुभो ?
कि कतै हेंवासंगै पहाडहरु छिचोल्दै जानुभो ?
होइन हौ ! त्यस्तो नहुनुपर्ने
जिउँदो छ तमसुक लेखेको
चारकिल्लेभन्दा कम छैन ।


कि यतिबेला 
हजुरको देशै कति समुन्द्र पार हो ?
कोलम्बस भइदिएको भए खोज्नेथें
कि जूनेली देशमा पो हाँस्नुभो ?
निल अर्मस्ट्रङ भइदिएको भए आउँनेथें
तर, सम्झना मात्र बाँचेको छु ।


उहिले त थिएन ढुङ्गा हजुरको मुटु
कङ्क्रीट पो भयो कि मन पनि अचेल ?
ढुङ्गाको कापमा त अम्लारी फुल्छ
ए ... ! कति रुखो नि हजुरको हृदय ?
सम्झना सम्म नफुल्ने 
कतिञ्जेलसम्म जमिनुहुन्छ हिउँको डल्ला ?
एकपल पग्लिएर बग्नुहोस् न बेस्सरी भावना ।


ख्यालख्यालमै एकबात
गर्र्नुभाथ्यो तारिफ– ‘यहाँको पहाड कन्याम झैं लाग्छ !’
हो, कन्याम कुहिरोमा लुक्दैन
र, पहिरोमा झुक्दैन
हजुरको दृष्टि पर्खेर बस्छ युगौंयुगसम्म
तसर्थ म भन्छु हजुर !
थोत्रिएको पुल भत्किनुपूर्व
मेन्छ्यायेम् डाँडा उभेर गुराँस फुल्नुछ
श्रीअन्तुबाट सुनौलो बिहान हिंड्नुछ
वशन्त छँदै सुकोमल मुना पलाउँनुछ
त्यसैले हजुर !
एकडोरो आसा नचुँडी छु
एकमुटु माया नपोखी छु
एकपहाड आस्था नढली छु
एकनदी याद नसुकी छु ।


                                                            याङ्नाम, पाँचथर
                                                            हाल ः दमक, झापा
 

प्रतिकृया दिनुहोस
SITENAME

गजल

                                                                 –फबिन तुम्बापो  अलिकति ठिक धेरै, बेठिक भएका छन्, मान्छे नै