निर्माणमा प्रविधिको प्रयोग

SITENAME

केही समयअघि एउटा राष्ट्रिय दैनिकमा नेपाली सेनाले निर्माण गर्दैगरेको काठमाडौं –निजगढ द्रूत मार्गको तस्बिरसहित समाचार छापिएको थियो । तस्बिरमा नेपाली सेनाका जवान हाते आराको प्रयोग गरी रुख काट्न लागेका देखिन्थे । समाचारमा भिर र असजिलो स्थानको रुख काट्न विद्युतीय आराको प्रयोग गरिएको र अन्य स्थानमा हाते आराको प्रयोग गरी करिब एक लाख १५ हजार रुख काट्न दुई यस जवान खटिएको उल्लेख गरिएको थियो । द्रूतमार्ग एक खर्बभन्दा बढीको योजना हो ।

त्यसमाथि सेनाले निरन्तर ठूला निर्माण कार्यहरु विशेष गरी सडक मार्ग बनाउँदै आएको छ र भविष्यमा पनि निर्माण कार्यमा सहभागी हुने निश्चित् छ । यस्तो अवस्था ठूलो संख्यामा रुखहरु काट्न र काटिएका रुखको गुणस्तर कायम राख्न आधुनिक औजार र मेसिनको प्रयोग गर्न सकिन्थ्यो । द्रूत मार्गको लगानी र सेनाको ठूला निर्माणमा निरन्तर संग्लनतालाई हेर्दा रुख काट्न प्रयोग गर्ने आधुनिक हेभी इक्युप्मेन्ट “फेलर बन्चर“ किनेर प्रयोग गर्दा उपयुक्त नै हुने देखिन्छ । किनभने भविश्य हामीले जलविद्युत्, सडक बनाउँदा धेरै रुखहरु कटान गर्नुपर्ने हुन्छ । राज्य आफँैले वा राज्यको सहयोगमा निजी क्षेत्रले आधुनिक हेभी इक्युप्मेन्ट नकिनीकन हाम्रो विकासले फट्को मार्न सक्तैसक्तैन ।

त्यस्तै सडक विभागले पुल निर्माण स्थलमा गरिने गहिरो जगको भार परीक्षणमा केन्टलेज (बोरामा माटो, बालुवा, गिटी भरेर वा कन्क्रिटको ब्लकहरु जम्मा गरेर कुनै पनि संरचनामा भार दिने विधि) विधिको प्रयोग गरेर पनि देखिन्छ । संसारमा यो विधि प्रयोग गर्न छोडिसकिएको छ । अहिले ओस्टरबर्ग सेलको प्रयोग गरेर वा डायनामिक परीक्षण वा अन्य धेरै प्रविधिको विकास भएको छ जुन धेरै सजिलो र प्रभावकारी मानिन्छ । त्यस्तै उक्त परीक्षणमा गरिलो जग (पाएल) विस्थापन नाप्नको लागि डायल गजको प्रयोग गरिएको देखिन्छ । डायल गज भनेको हातमा लगाउने घडीजस्तो देखिने सानो सानो दूरी (मिलिमिटरभन्दा पनि धेरै सानो) नाप्न प्रयोग गरिने यन्त्र हो । यो यन्त्र प्रयोग गरेपछि बारम्बार डाटा टिपिरहनु पर्छ । अनुसन्धानमा अहिले यसको प्रयोग धेरै कम भइसकेको छ । नेपालका धेरैजसो प्रयोगशालाहरुमा यस्तै यन्त्रको प्रयोग भइरहेको पाइन्छ ।  

यसको विकल्पमा धेरै सेन्सेटिभ  सेन्सर वा उपकरणहरु पाइन्छन् । सामान्य प्रोग्रामिङ गरेपछि कम्प्युटरमा सोझै डाटा उपलब्ध हुन्छ । यस्ता उपकरणहरु भारतीय बजारमै केही हजार रुपैयाँमा पाइने गर्छ । यस्ता डिजिटल आधुनिक उपकरणहरुको प्रयोगले सही  तथ्यांक आउनुका साथै ती तथ्यांकलाई धेरै किसिमले अध्ययन गर्न सकिने हुन्छ ।  अहिले निर्माणमा नयाँनयाँ प्रविधिको प्रयोग उच्च मात्रामा हुँदैछ । यस्ता प्रविधिको प्रयोगबाट सरंचना निर्माणको लागत र समय पनि कम हुँदैछ भने प्रविधि प्रयोगले निर्माणको गुणस्तर कायम रहने वा अझ वृद्धि गरेको पाइन्छ ।

प्रविधिको प्रयोग गरी निर्माण कार्यलाई कसरी उच्च गतिमा गर्न सकिन्छ भनेर हेर्न अब युरोप र अमेरिका गइराख्नु पर्दैन । हाम्रो छिमेकी राष्ट्र चीनको अध्ययन गर्दा पनि हुन्छ । हामीले सामाजिक संजाल तथा समाचारहरुमा सुनिरहेका हुन्छौ चीनले यती दिनमा ३० तले भवन बनायो, केही  महिनामै यती लामो पुल बनायो, ओलम्पिक आयोजना गर्न चीनले दुईवर्षमै ठूला रङ्गशालाहरु बनायो आदि आदि । चीनमा मात्र होइन हाम्रो अर्को छिमेकी राष्ट्र भारतमा पनि निर्माण कार्यमा प्रविधिको उच्चतम प्रयोग हुँदैछ । हालैमात्र एउटा समाचार आएको थियो चीनमा नौ घन्टामै एउटा रेल स्टेसन बनाइयो भनेर । नौ घन्टामै एउटा रेल स्टेसन बनाउन प्रविधिको प्रयोग नगरे जतिसुकै कामदार लगाए पनि सम्भव छैन । हाम्रोजस्तो अधिकांश संरचना सामान्य कन्क्रिट प्रयोग गरेर बनाउने हो भने सामन्य कन्क्रिटले पूरा सामर्थ्य प्राप्त गर्न करिब १ महिना लाग्छ ।

हाम्रै देशमा पनि भेरी–बबई आयोजनामा सुरुङ खन्न टनेल बोरिङ मेसिन अर्थात् टीबीएम प्रयोग भयो र नयाँ टेक्नोलोजी भित्रियो । विश्वका अन्य देशमा सुरुङ खन्न प्रयोग गर्दै आएको टीबीएम प्रविधि नेपालमा पहिलोपटक प्रयोग भएको हो ।  यसले करिब ३ महिनामा २ किलोमीटर सुरुङ खनिसकेको छ । मेलम्ची खानेपानीको करिब २७.५ किलोमीटर सुरुङ दशकौं भयो खनेर सकिएको छैन । मेलम्ची निर्माणमा टीबीएम प्रयोग गर्न सकिएको भए अवस्था अर्कै हुनेथियो।

हाम्रो देशका ‘क‘ वर्गका निर्माण व्यवसायीहरुसँग न त ठूलो संख्यामा दक्ष जनशक्ति छ न त आधुनिक उपकरणहरु नै छन् । न त तिनीहरू निर्माणमा नयाँ नयाँ प्रविधिको प्रयोग नै गर्छन् । क वर्गका भनिएका निर्माण व्यवसायीसँग २–४ जना इन्जिनियर, एकाध थान डोजर, क्रेन, एक्साभेटरजस्ता चलनचल्तीका सामन्य हेभी एक्कुपमेन्टबाहेक अरु मानव संशाधन, उपकरण र प्रविधि त्यस्तो केही भएको पाइँदैन । त्यस्ता नाममात्रका क वर्गका २–३ निर्माण व्यवसायीलाई मिलाएर मुग्लिङ – नारायणगढ खण्डको ३६ किलोमीटर (३६ मा पनि नारायणगढ–जुगेडीसम्मको करिब १० किलोमीटर सडकमा कमै भागमा मात्र भित्तो काट्ने र पुर्ने काम छ ) बाटो बनाउनु पनि ३ –४ वर्ष लाग्ने देखिन्छ । भन्न त निर्माण ब्यवसायीहरु र सरकारी निकायहरुले उक्त सडकमा सवारी साधन सुचारु गर्नुपर्ने हुनाले काममा अवरोध भएको भन्छन् तर त्योमात्र कारण हुँदै होइन । दैनिक २–४ जना कामदारले हाते औजार र १ –२ सामान्य हेभी एक्कुपमेन्ट प्रयोग गरेको देखिन्छ । संसारमा घना सहरमा वा व्यस्त पहाडी मार्गमा पनि सवारी साधन सञ्चालन गरी वा दैनिक केही घन्टा रोकेर अत्यन्त कम समयमा नै काम सकिएका उदाहरण सामान्य देशहरुमा पनि देखिन्छ ।

अहिले विकसित देशहरु ट्रेन्चलेस प्रविधिको विकास र प्रयोग भइरहेको छ । त्यसले काठमाडौंजस्ता व्यस्त र घना सहरहरुमा खाल्टो नखनीकनै खानेपानीका पाइपलाइन, ढल, बिजुली तथा संचारका तारहरु आदि बिछ्याउने गर्छ । हामीले पनि त्यस्तो प्रविधि भित्र्याउन सकेको भए काठमाडौंमा धुलो र हिलोको यति ठूलो समस्या हुने थिएन। काठमाडौं जस्तो उच्च घनत्व भएको ठाउँमा माइक्रो टनेल (माइक्रो टिबिएम वा अन्य प्रविधि र उपकरणको प्रयोग गरेर) खनेर पनि मेलम्चीको पाइप बिछ्याउन सकिन्थ्यो मेलम्चीको जुन लागत लागेको छ त्यस हिसाबले नयाँ प्रविधि प्रयोग गरेर काठमाडौंमा पाइप बिछ्याएको भए समय पनि कम लाग्थ्यो, धुलो र हिलोको समस्या पनि हल हुने र ट्राफिक अस्तव्यस्त पनि कम हुनेथियो ।

नेपालजस्तो देशमा सुरुङ मार्ग र अग्ला अग्ला पुलहरु (प्राविधिक शब्दावलीमा भायडक्ट ) बिना विकसित देशको जस्तो सडक सञ्जाल हुन सक्तैन। आगामी ५ वर्ष प्रतिव्यक्ति आय वार्षिक पाँच हजार डलर पु¥याउने अहिलेको सरकारमा रहेका पार्टीहरुको घोषणा पत्रमा लेखिएको छ । यस्तै देशमा वार्षिक करिब ५० लाख पर्यटक भित्राउने लक्ष्य राखिएको छ । अहिले हाम्रोमा वार्षिक १० लाख पर्यटक पनि नआउदासमेत विमानस्थलमा जाम हुनेदेखि होटेलहरु सबै भरिएको समाचार आउँछ । पचास लाख पर्यटक वर्षमा भने पनि नेपालमा पर्यटनको समय छ महिनामात्र हो । यसका लागि धेरै ठूला संरचनाहरु पाँच वर्षभित्र बनाउनुपर्छ । त्यस्तै हजारौं किलोमीटर सडक र ट्रान्समिसन लाइनको कुरा छ, हजारौं मेगावाट बिजुलीको कुरा छ । के अहिले हाम्रोमा प्रयोग भइरहेको पुरानो प्रविधिले ठूला संरचना पाँच वा १० वर्षभित्र बनाउन सकौँला त ? के यी सबै काम पाँचदेखि १० भित्रमा गर्न हाम्रा निर्माण व्यवसायीसँग भएको प्रविधिले सम्भव छ त ? त्यो अवश्य पनि संभव छैन ।  देशमा ठूला संरचना (जलविद्युत्, सडक, बिमानस्थल, सिंचाइ आदि) निर्माण नभईकन देशको ढुकुटी भरिँदैन । कुल आन्तरिक उत्पादन (जीडीपी) को भौतिक संरचनासँग प्रत्यक्ष सम्बन्ध हुने जो गर्छ । 

अहिले निर्माण क्षेत्र थ्री डी प्रिन्टिङ, ड्रोन, मोबाइल टेक्नोलोजी, प्रिफ्याब्रिकेसन, रोबोटिक्स, भर्च्युअल रियालिटी, ट्रेन्चलेस टेक्नोलोजी, सर्भोकन्ट्रोल उपकरणहरु, अटोमेसन, आधुनिक हेभीएक्युप्मेन्ट प्रयोग हुन्छन् ।  माथि उल्लेखित सबै प्रविधि तथा उपकरण महँगो पर्दैन । हामीले सजिलै किन्न तथा प्रयोग गर्न सक्छौँ । तर, राज्यको नीतिनियम कतिे पुरातनवादी छ भने तिनको सहज प्रयोग गर्न दिँदैन । जस्तै अहिले निर्माण तथा अनुसन्धानमा अत्याधिक प्रयोग हुने प्रविधि भनेको “ड्रोन“ हो । तर, नेपालमा सामान्य अनुसन्धानका लागि ड्रोन प्रयोगको अनुमति लिन कम्तीमा पनि एक महिना जति लाग्ने र धेरै स्थानमा धाउनु पर्ने अवस्था छ । भूकम्प, बाढी तथा पहिरोजस्ता प्राकृतिक प्रकोप हुनेबित्तिकै यसले तत्काल उद्धारका लागि घटनाको वस्तुस्थिति देखाउन र अन्य अनुसन्धान गर्न, नेपालजस्तो भूबनोट भएको स्थानमा सबै खालको संरचनाको सर्भे तथा अध्ययन गर्न, ठूला निर्माणहरुको सुरक्षा र प्रगतिको अवस्था आकलन गर्न ड्रोन क्यामराको प्रयोग विश्वभर सामान्य भइसकेको छ । हाम्रो राज्यको नीतिले यसलाई ठूलो हतियारको जस्तो व्यवहार गर्छ ।

अहिले हाम्रो अवस्था केही दशक अगाडिको जस्तो छैन । जस्तै नारायणी लिफ्ट सिँचाइ आयोजनाको पम्प बिग्रियो भने जर्मनीबाट पार्टपुर्जा र प्राविधिकहरु झिकाउनुपर्ने अवस्था थियो र छ। तर, अहिले हाम्रो छिमेकी राष्ट्रहरु चीन र भारतमै नयाँ नयाँ प्रविधि र उपकरणहरुको विकास भएका छन् । हामीले सुरुको समयका लागि त्यहाँबाट प्रविधि लिएर प्रयोग गर्न सक्छौँ । तर, एउटा बुझ्नु पर्ने कुरा के हो भने प्रविधि र उपकरणहरु सबै स्थानहरुमा निरपेक्षरुपमा प्रयोग गर्न नसकिने हुनसक्छ । त्यसैले बाहिरबाट आयातित प्रविधि र उपकरणहरुलाई हाम्रो परिस्थिति र आवश्यकताअनुसार परिवर्तन र उन्नयन गर्दै जानुपर्छ । युरोपको विकास सुस्तसुस्त २०० वर्षमा भएको हो तर हामीलाई अब त्यस्तो समय उपलब्ध छैन । अब हामीलाई त दक्षिण कोरिया, ताइवान, चीना, सिंगापुरको जस्तो तीव्र गतिको विकास चाहिएको छ । कसरी यी देशले १० –२० वर्षमै विकासको छलाङ मारे त ? उत्तर सजिलो छ – प्रविधिको भरपुर विकास र प्रयोग गरेर ।

अमेरिकी इन्जिनियर, भौतिकशास्त्री पिटर डायमान्डिसका अनुसार सन् १९०० देखि २००० सम्म १०० वर्षको अवधिमा जति विकास भयो, त्यति विकास वा परिवर्तन अब अहिले ५ – ६ वर्षमा गर्न सकिन्छ र हुनेछ । अब संसार हाम्रो गतिभन्दा धेरै छिटो कुद्दै छ । संसार हाम्रो सोचाइभन्दा पनि आज बढीे गतिमा अगाडि बढिरहेको छ । तसर्थ, हाम्रो निर्माण क्षेत्रमा आधुनिक प्रविधि भित्र्याउन र प्रयोग गर्न ढिलो गर्नु हुँदैन । यद्यपि, यसको सुरुको लागत धेरै पर्न सक्छ तर निर्माणको गति उच्च र गुणस्तर कायम हुने हुनाले विकासको प्रतिफल चाडै प्राप्त भई केही वर्षमा नै आधुनिक प्रविधिको लागत कम हुँदै जानेछ । अहिले हामीले खोजेको विकास र समृद्धिको यात्रा प्रविधिको उच्चतम प्रयोगबाट मात्र सम्भव छ । निर्माण क्षेत्रमा प्रविधिबिना ठूलो फट्को मार्न सकिँदैन र हाम्रो पालामा समृद्धि देख्न गाह्रो हुनेछ । त्यसमाथि हाम्रो जस्तो भूबनोट र सक्रिय टेक्टोनिक गति भएको देशमा प्रविधिको प्रयोगबिना ठूला संरचनाको कल्पना गर्नु ‘टाँगा चढेर अमेरिका जानु’ जस्तै हो ।

(सिभिल इन्जिनियर )

प्रतिकृया दिनुहोस
SITENAME

आविष्कार केन्द्रले बनायो ‘मेडिकल ड्रोन’

म्याग्दी– सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा

SITENAME

काठमाडौंका सम्पदा क्षेत्रमा फ्री वाइफाइ

काठमाडौं- काठमाडौंका सम्पदा क्षेत्रमा ६० दिनभित्र वाइफाइ जडान गरिने भएको छ। सर्वसाधरणलाई निःशुल्क वाइफाइको सेवा उपलब्ध गराउन काठमाडौं

SITENAME

पानीभित्र रेस्टुरेण्ट

नर्वे – विश्वमा नयाँ नयाँ आविष्कारको होडबाजी चलिरहेको बेला दक्षिणी नर्वेमा पानीभित्र रेस्टुरेण्टको निर्माण  भइरहेको छ। सन् २०१९ को अन्त्य