‘घिउ बेचुवा’ ओली र ‘तरबार बेचुवा’ मोदी

SITENAME

मेरी हजुरआमा एउटा कथा सुनाउँथिन् । भन्थिन् – ‘एउटा सानो गरिब केटो पेटभर खान पाउँदैनथ्यो रे ! त्यसैले उसलाई सधैँ खानेकुराको सपना देखेर मन बुझाउने बानी बसेछ । बनिबुतो गरेर बाउआमाले ल्याएको अन्नपातले छाक टार्नै मुस्किल । दीनहीनलाई दिनको दुईपल्ट हातमुख जोर्न पनि सधैँको धौधौ । कलिलो उमेरको छोरा बाउआमासँग विद्रोह गर्न त् सक्दैनथ्यो तर उसको खाली पेट र चाहनाको मौन विद्रोहले त्यस परिवारको स्थिति छर्लङ्ग पारिदिन्थ्यो, बाबुआमालाई आर्थिक अभावको आभास गराउँथ्यो । 

खानेकुराको अभावमा सपना देख्नुको विकल्प गरिबको सन्तानसँग थिएन । ऊ भन्ने गर्थ्यो  रे – ‘खानेकुरा नभए पनि श्राद्धको कुरा गर न आमा ! खाएजस्तै हुन्छ ।’ 
नेपाली जनताको लागि विकासको सपना भोको पेट खानेकुराको सपना देख्ने त्यो बालकको भन्दा खासै फरक छैन । पेट भोको भएको बेला पीरो तितौरा पनि मीठो परिकारभन्दा केही कम नभएजस्तै हो नेपालमा देखिएको डोजर र एस्काभेटरको मौसमी विकास ! त्यही विकासको भोकलाई श्राद्धको कुरा गरेझैँ बारम्बार नेपाली राजनीतिक नेतृत्वले प्रयोग गर्दैआएका छन् । गरिबका अभिभावक र देशका अभिभावकका बीच एउटा फरक के हुँदोरहेछ भने गरिबलाई श्राद्धको कथा सुनाएर आफ्ना सन्तानमा खाएको रोमाञ्चकता भर्दा आफूलाई पीडा हुन्छ तर नेतामा त्यस्तै कथा सुनाउन पाउँदा र गरिब जनताले विश्वास गर्दा गौरवान्वित हुने बानी हुन्छ । 

कमरेड केपी शर्मा ओलीले पनि श्राद्धको कथा सुनाएर जनताको पेट भर्ने कलामा निपुणता हासिल गरेको छनक दिँदैछन् । कुनैबेला आफूलाई भारतको हेपाहा दुर्व्यवहारको विपक्षमा प्रस्तुत गरेर अहिले दुई तिहाई बहुमतसहितको प्रधानमन्त्री भएको दुई महिना नबित्दै भारतसँग मित्रताका लागि उनले देखाएको लालसाले सो कुराको संकेत गर्दैछ । यद्यपि, भारत भ्रमणमा जानुलाई नेपालको भूराजनीतिक अवस्थाको कारणले पूरै गलत भन्न मिल्दैन । तर, जुन तवरले भ्रमण सफल भएको भनेर ‘हुइँया’ मच्चाइँदैछ त्यसले भने यो देश र प्रधानमन्त्री ओलीलाई कुनै प्रकारले पनि फाइदा गर्दैन । वास्तवमा दुई वर्षअघि पहिलोपल्ट प्रधानमन्त्रीका रूपमा भारत भ्रमण गर्दा संयुक्त प्रेस विज्ञप्तिमा सही नगरीकन आउँदा भ्रमण असफल भए पनि उनको राजनीतिक साख जुन रुपमा बढेको थियो यसपल्ट जनताबाट सोही स्तरको हार्दिकता तथा समर्थन प्राप्त नहुन सक्छ । 

नेपालमा मिडियाको प्रयोग कसरी गर्नुपर्छ भन्ने विषयमा कम्युनिस्ट पार्टीहरू र यसका समर्थक मिडियालाई राम्ररी थाहा छ । दुई वर्षअघि दुई देशबीच कुनै सहमति नभईकन खाली हात आउँदा पनि भ्रमण सफल भएको हुइयाँ चलाइएकै थियो, अहिले १२ बुँदे फोस्रो सहमति गरेर आउँदा पनि भ्रमण सफल भएको हुइयाँ चलाइएकै छ । वास्तवमा नेपालका प्रधानमन्त्री ओलीको कलाकार तथा व्यापारीसहितको यो भ्रमण सफल तथा असफल दुवै होइन । दुवै देशले परम्परालाई निरन्तरता दिएकामात्र हुन् ।

भ्रमणको समापनमा भनिएअनुसार नेपालले कृषि, रेल तथा जल यातायातमा भारतसँग महत्त्वपूर्ण समझदारी गरेको छ । तर, ती समझदारीले नेपाललाई आर्थिक रूपमा कसरी सबल र सफल बनाउन सक्छन् भन्ने विषयमा ठोस कार्यक्रम अहिलेसम्म सार्वजनिक भएको छैन । कृषिमा भारतले नेपाललाई सहयोग गर्नुभन्दा नेपालमा उत्पादन हुने अदुवा, अलैँची तथा जडिबुटीलाई भारतीय बजारमा सहज प्रवेश दिए कृषिको आफैँ विकास हुन्छ । नेपाललाई चाहिने रासायनिक मल सस्तोमा उपलब्ध गराउने हो भने पनि यस क्षेत्रमा नेपाललाई ठूलो सहयोग हुन्छ । तर, कृषिमा सहयोग आउन त्यति सहज नहोला । किनभने नेपाल भारतको कृषि उपजको एउटा ठूलो बजार हुनपुगेको छ । कुनैपनि राजनीतिक नेताले आफ्ना उत्पादनको बजार बिगारेर अर्को देशमा उत्पादन गर्ने काम पक्कै गर्दैन । हाम्रा देशका नेताले मात्र उत्पादन, रोजगारी र व्यापार घाटाको विषयलाई जनजीवनको महत्त्वपूर्ण पाटो हो भनेर जोड्न नसकेका हुनाले नेपाली जनता विदेशमा रगत पसिना बगाएको पैसाले भारतीय सामान किनेर खान अभ्यस्त बन्नुपरेको हो । 

रेल भारतबाट आए पनि चीनबाट आए पनि नेपाललाई भन्दा तिनै देशलाई फाइदा हुन्छ । ती देशबाट सामान भरिएर आएका रेलका कन्टेनर नेपालबाट ९० प्रतिशतभन्दा बढी खाली फर्किन्छन् । रेलमा सामान पठाउन पाए तिनको सामान विदेशबाट आएको सामानभन्दा सस्तो हुन्छ । त्यसैले रेल नेपाल ल्याउन भारतले नै कोसिस गर्नुपर्ने हो । चीनले पनि नेपालको सिमानाबाट ५०० किलोमिटर परसम्म मात्र रेल ल्याएको छ, त्यसभन्दा यता सीमाको केरुङ र केरुङबाट काठमाडौंसम्मको रेल लाइन कहिले आउने हो त्यस विषयमा चीन भ्रमणको समयमा कुरा होला ।

जलमार्ग एउटा सपना हो । मेलम्चीबाट काठमाडौंसम्म अपेक्षाकृत रूपमा निकै सानो सुरुङबाट पानी ल्याउन त २० वर्ष लागेको नेपाललाई अहिले नै जलमार्गको कुरा एउटा सपनामात्र हो । यस्ता सपना बेच्न मोदी माहिर छन् । उनले नेपालको जलस्रोत, आर्थिक समस्या, सीमा समस्या आदि विषयमा निकै महत्त्वपूर्ण समझदारी गर्न सक्थे तर त्यसो भएन । भारतपरस्त भनेर आरोप लागेका शेरबहादुर देउवा दक्षिण गए पनि भारतले फकाउन बोलाएको भनिएका ओली दक्षिण गए पनि नेपालको हितमा ठोस काम अझै हुन सकेको छैन । न देउवा गएर सीमाका समस्या, डुबानका समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, कर्णाली आयोजना, अरुण जलविद्युत् आयोजना आदिको समाधान लिएर आउन सके न त ओलीले नै ।

वास्तवमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका ‘घिउ बेचुवा’ र ‘तरबार बेचुवा’ व्यापारीको कथाजस्तै भएको छ । सो कथामा पनि घिउ बेचुवाले गोबर भरेको भाँडाको मुखमा घिउको एक तह राखेर तरबारसँग साट्न खोज्छ भने तरबार बेचुवाले पनि काठको तरबारमा फलामको पत्र टाँसेर घिउ उम्काउन खोज्छ । मोदीजीलाई आफ्ना छिमेकीसँग राम्रो सम्बन्ध बनाउन नसकेको आन्तरिक आरोपको पीडाले नेपालसँग सम्बन्ध बढाएजस्तो भान गराउनु छ भने ओलीजीलाई नेपाल भारतको विरोधी होइन भन्ने प्रमाणित गरेर आफ्नो सरकारको आयु नघटोस् भनेर पक्का गर्नु छ । भारतले नेपालका मुख्य समस्यामा चुपचाप बसेर अन्य ठूला सपनाको भारी बोकाएर ओलीलाई दङ्ग पारेको छ भने ओलीले पनि भारतलाई आफूसँगै छु भन्ने भान पारेर भ्रमण सफल भएको प्रचार गरेका छन् ।

तरबार बेचुवा र घिउ बेचुवाले एक अर्कासँग आफ्नो सामान साटेर जसरी दुवै ठगिए त्यस्तै ओलीको भ्रमणबाट नेपाललाई तात्विक फाइदा भएको छैन । 
यति हुँदाहुँदै पनि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणले नेपालको सार्वभौमिकता भने सशक्त ढंगले स्थापित गरेको छ । ओलीलाई स्वागत गर्न भारतले देखाएको तत्परता, भारतले गरेको सम्मान र राजकीय भव्यताले नेपालको राजनीतिक साख बढाएको छ । प्रधानमन्त्री ओलीले नेपाल सरकार प्रमुखको रूपमा गरेका सम्बोधन, दिएका अन्तर्वार्ता र अन्य विषयमा लिएको अडानले नेपाल आफूलाई भारतसँग समान सार्वभौम सत्तासम्पन्न राष्ट्रका रूपमा प्रस्तुत हुन चाहन्छ भनेर प्रमाणित भने गरेका छन् । वास्तवमा प्रधानमन्त्रीको रूपमा कृष्णप्रसाद भट्टराई तथा गिरिजाप्रसाद कोइरालापछि नेपालको इज्जत प्रधानमन्त्री ओलीले स्पष्टरूपमा उजिल्याएका छन् ।

प्रतिकृया दिनुहोस
SITENAME

दिल्लीको आँखामा ओली

अधिकांश भारतीय मिडियाले चीनपरस्त भनेर चित्रिण नेपालका प्रधानमन्त्री केपी ओली आगामी साता भारत भ्रमणामा जाँदैछन् बहुमत प्राप्त कम्युनिष्ट गठबन्धन

SITENAME

मदन दाइ र हरि दाइले संकेत गर्नेबित्तिकै बुझिहाल्नुहुन्थ्यो

‘मह सञ्चार’को ब्यानरमा निर्माण भएको चलचित्र ‘शत्रु गते’ यही चैत ९ गतेबाट प्रदर्शनमा आउँदैछ । हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसी,