बाह्रखरी समीक्षा प्रहरी संगठनमा दुई खनाल, खरेलले राजीनामा दिने

SITENAME

नेपालका दुई महत्त्वपूर्ण प्रहरी संगठन नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले नयाँ नेतृत्व पाएका छन् । नयाँ नेतृत्वका रूपमा नेपाल प्रहरीमा सर्वेन्द्र खनाल महानिरीक्षक बनेका छन् भने सशस्त्र प्रहरीमा शैलेन्द्र खनाललाई महानिरीक्षक बनाइएको छ । सर्वेन्द्र आउँदो २२ महिना नेपाल प्रहरीको प्रमुख हुनेछन् भने शैलेन्द्र चार वर्षका लागि सशस्त्र प्रहरीको प्रमुख रहनेछन् । 

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल सुरुदेखि नै एक सशक्त, जिम्मेवार र आँटेको काम पूरा गरिछाड्ने प्रहरी अधिकृतका रूपमा परिचित थिए । एसएसपीमा बढुवा हुँदा रमेश खरेलभन्दा तल परेका भए पनि डीआईजीमा बढुवा हुँदा उनी पहिलो नंबरमा परेका थिए भने रमेश खरेल दुई नंबरमा रहेका थिए । सर्वेन्द्रले अपराध अनुसन्धानमा देखाएको विशेष कार्यकुशलताले उनको चर्चा मिडियामा पनि व्याप्त थियो । खरेल चर्चाको शिखरमा भए पनि अन्तिम समयमा आएर खनाल मिडियाको प्रिय हुन पुगेका थिए । नेपाली फुटबलमा भएको म्याच फिक्सिङको प्रकरण सार्वजनिक गरेर खेलाडीमाथि कारवाही गरेपछि उनको चर्चा चुलिएको थियो । विभिन्न अपराधीको ‘इनकाउन्टर’मा पनि महानिरीक्षक खनालको नाम जोडिएको छ । उनले आफूले जिम्मा पाएको विभिन्न स्थानमा अपराध नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेलेका थिए । 

शैलेन्द्र खनाल नेपाल प्रहरीमा इन्स्पेक्टरका रूपमा २०४९ सालमा प्रवेश गरेका थिए । माओवादी आन्दोलनको उत्कर्षमा गठन भएको सशस्त्र प्रहरी बलमा नेपाल प्रहरीबाट आफूखुसी प्रवेश गरेर उनले चुनौतीको सामना गर्ने अधिकृतको रूपमा आफूलाई स्थापित गरे । सशस्त्र प्रहरी बलको स्थापना देखि नै यसलाई सांगठनिकरूपमा सशक्त र सबल बनाउन विभिन्न नीतिगत र कार्यगत निर्णय गराउन खनालको भूमिका अब्बल रह्यो । काठमाडौंको सिद्धार्थ बनस्थली विद्यालयबाट २०३९ सालमा एसएलसी तथा त्रिचन्द्र क्याम्पसबाट बिएस्सी गरेका खनालले जनप्रशासन विषयमा स्नातकोत्तर गरेका छन् । सशस्त्र प्रहरी बलबाटै छानिएर संयुक्त राष्ट्र संघको शान्ति सेनाको मिसनमा वरिष्ठ प्रहरी अधिकृतका रूपमा केही वर्ष अनुभव प्राप्त गरेका खनाल कुनै पनि व्यवधानलाई सहज ढंगले सुल्झाउन कुशल मानिन्छन् ।

आजका सबै दैनिक पत्रिकाले दुई खनाल प्रहरीका दुई संगठनको प्रमुखमा नियुक्त भएको समाचारलाई प्रमुखताका साथ प्रकाशित गरेका छन् । नयाँ पत्रिकाले सर्वेन्द्रसँग प्रतिस्पर्धामा रहेका अर्का डीआईजी रमेश खरेलले राजीनामा दिने विषयलाई पनि सम्मिलित गरेको छ । आफू भलिबल खेलाडीको रूपमा प्रहरी संगठनमा प्रवेश गरेको र २९ वर्ष सेवा अवधि पुर्याएको तर अब निरन्तरता दिँदा आफूमा एक प्रकारको हीनताबोध हुने कारणले राजीनामा दिने खरेलले बताएका छन् । 

प्रदेश २ मा मधेसी गठबन्धन फुटाउने तयारी

हिमालय टाइम्सले प्रथम पृष्ठमा प्रकाशित गरेको समाचारअनुसार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले २ नंबर प्रदेशमा पनि अब कम्युनिस्ट गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । उनको दाबीअनुसार संघीय समाजवादी फोरम तथा राष्ट्रिय जनता पार्टीको गठबन्धन फुट्ने लक्षण देखिएको छ । प्रदेश नं २ मा राजपाको समर्थनमा फोरमका लालबाबु राउतको नेतृत्वमा सरकार गठन भएको छ । मंगलवार धनकुटाको पाख्रीवासमा एउटा कलेजको भवन शिलान्यास गर्ने क्रममा दाहालले त्यो दाबी गरेका हुन् । 

मेलम्चीको सुरुङ सकियो 

काठमाडौंवासीलाई सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी खुवाउने नेपाली कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ठूलो सपना उनको मृत्यु भएको करिब सात वर्षपछि पूरा हुने चरणमा पुगेको छ । बिहीवार एक विशेष समारोहका बीच २७.५ किलोमिटर सुरुङको अन्तिम औपचारिक छेडाइ हुनेभएको छ । यो सुरुङबाट अब मेलम्ची खोलाको पानी काठमाडौं भित्रिएपछि दैनिक १७ करोड लिटर खानेपानी काठमाडौंवासीले पाउनेछन् । यो पानीको प्रशोधनका लागि एक प्रशोधन केन्द्र निर्माण भइसकेको र अर्को पनि अन्तिम चरणमा पुगेको बताइएको छ । सन् २००१ बाट थालिएको आयोजना सुरुमा सन् २००७ मा समाप्त गर्ने लक्ष्य थियो । तर दातासमेत फेरिएको र ठेकेदारले काम समयमै नगरेकोदेखि अनेक समस्याले गर्दा यसको समय लम्मिदै गएको थियो । अब सुरुङ खनेर सकिएको र त्यहाँ प्लास्टर र फिनिसिङ गर्न बाँकी रहेको हुनाले पानी असोज महिनासम्म काठमाडौंका घरघरमा पुग्ने आयोजनाले बताएको छ । 

विचार र दृष्टिकोण

आत्मसमीक्षाको खाँचो : नेपाली कांग्रेसका नेता तथा भारतका लागि नेपालका पूर्व राजदूत दीपकुमार उपाध्यायले आफ्नो दलमा देखिएको समस्याको चर्चा अन्नपूर्ण पोस्टमा गरेका छन् । लेखमा उने गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई आफँैले जन्माएको पार्टी नेपाली कांग्रेस उनीहरूले देखाएको बाटो हिँड्न छाडेकाले यो दल इतिहासमै कमजोर हुन पुगेको टिप्पणी गरेका छन् । पार्टीका नेताहरूले एक अर्कालाई को सही र को गलत भनेर दोष लगाउनुभन्दा अब पार्टीलाई थप क्षति हुनबाट रोक्नुपर्ने उपाध्यायको सल्लाह छ । यसका लागि पार्टीभित्र संस्थागत, विधिसंगत, पारदर्शी, अनुशासित, एकतापूर्ण नीतिगत प्रतिबद्धताका साथ वैचारिक अभियानमा समर्पित हुनुपर्छ भन्ने उपाध्यायको विचार छ । 

प्रधानमन्त्रीको भारत भ्रमण : प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सकिएको चार दिन भएको छ । यसबीच नेपाली दैनिक पत्रिकामा उनको भ्रमणलाई लिएर विचार आउने क्रम जारी छ । आजको नयाँ पत्रिकामा प्राध्यापक कृष्ण पोखरेल, नागरिकमा पुरुषोत्तम दाहाल तथा कान्तिपुरमा गेजा शर्मा वाग्लेले यस विषयमा लेखेका छन् । पोखरेलले ओलीको भ्रमणलाई अत्यन्त सफल भन्दै नेपाली कांग्रेसले ठूलो छाती गर्न नसकेकोमा आलोचना गरेका छन् । पुरुषोत्तम दाहालले पनि यो भ्रमणलाई सकारात्मक भन्दै नेपाल भारतबीचको सम्बन्धलाई भारतले पनि यथार्थमा बोध गरेको भनेका छन् । कान्तिपुरमा गेजा वाग्लेले भने भ्रमण सफल भएको भन्ने विषयमा प्रश्न गरेका छन् । वाग्ले भन्छन् – कूटनीतिक शिष्टाचारका लागि हार्दिकता देखाए पनि ओली र मोदी दवै एकअर्काप्रति आश्वस्त भइसकेका छैनन् । ओलीको चीन नीति र भारतले नेपालप्रति देखाउने व्यवहारबाट यो सम्बन्ध अझ स्पष्ट हुने वाग्लेको भनाइ छ । 

सम्पादकीय

हिमालय टाइम्सले सरकारले जारी गरेको श्वेतपत्रको विषयमा सम्पादकीय लेख्दै मुलुकको आर्थिक दुरावस्थाको लागि कम्युनिस्ट दल जिम्मेवार हुन् कि होइनन् भनेर पनि प्रश्न गरेको छ । सरकारले आरोप प्रत्यारोपमा जानुभन्दा श्वेतपत्रका बारेमा उठेका प्रश्नहरूको सार्थक जवाफ दिनुपर्ने सो दैनिकको धारणा देखिएको छ । 

नयाँ पत्रिकाले उखु किसान र उद्योगमन्त्रीको विषयमा सम्पादकीय लेखेको छ । उखु किसानलाई समयमा भुक्तानी नदिने र तिनले पाउनुपर्ने पैसामा लामो हात गर्ने उद्योगीमाथि हस्तक्षेप गरेर उद्योगमन्त्रीले राम्रो काम गरेका छन् भनेर नयाँ पत्रिकाले मन्त्रीको प्रशंसा गरेको छ । 

कान्तिपुरले नियुक्तिको विषयमा ध्यान दिन सरकारको ध्यान आकृष्ट गरेको छ । सरकार आफैँले नियुक्त गर्ने पदहरूमा योग्य, सक्षम, चरित्रवान् र समाजले प्रश्न उठाउन नसक्ने किसिमका व्यक्तिलाई छान्नुपर्छ भन्दै कान्तिपुर लेख्छ – नागरिकले तिरेको करबाट तलब खाने व्यक्तिको नियुक्तिमा जनताले प्रश्न उठाउन पाउँछन् र सरकार त्यसमा जवाफदेही हुनुपर्छ । 

मेन पावर व्यवसायीको प्रभावले सरकारले तयार पारेको कानुनको मस्यौदालाई पुनः परिपार्जन गर्न श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय पठाएको विषयमा सम्पादकीय लेख्दै नागरिक दैनिकले यसलाई लाजमर्दो विषय भनेको छ । श्रममन्त्रीले विदेशमा जाने कामदारको सामाजिक सुरक्षा कोषलाई व्यवस्थित बनाउन सके उनी सफल ठहरिने नागरिकको सल्लाह छ । 

अन्नपूर्ण पोस्टले सामाजिक विषयमा संवेदनशील बन्न सरकारलाई आह्वान गरेको छ भने राजधानीले डोल्पा सडक संजालसँग जोडिएको विषयमा सम्पादकीय लेख्दै त्यहाँका जनतालाई आर्थिकरूपमा पनि सम्पन्न बनाउन काम गर्नुपर्ने बताएको छ । गोरखापत्रले विद्युत्को जोखिमबाट जोगिनुपर्ने विषयमा सचेत गराउँदै सम्पादकीय लेखेको छ । 

प्रतिकृया दिनुहोस
SITENAME

प्रदेश ७ मा १८ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत

धनगढी (रासस) । प्रदेश नं ७ को सरकारले आज प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समाजवाद उन्मुख अर्थतन्त्रको प्रवद्र्धनका लागि लगानीमैत्री वातावरण

SITENAME

प्रधानमन्त्री व्यवसायीलाई भने– भारतबाट आउने रेललाई रित्तै जान दिनुहुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यावशाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनुपर्ने बताएका छन् । नेपाल

SITENAME

वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गरिने

काठमाडौं । निर्वाचन आयोगले २०७५ वैशाख २ गतेबाट मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । २ गते आइतबारदेखि सबै क्षेत्रीय/जिल्ला निर्वाचन